बुटवल, १६ असार ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकारितामार्फत समाजमा योगदान पु¥याएका तीनजना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघले स्थापना गरेको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ तथा ‘सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२’ सोमबार बुटवलमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी सम्मानित भएका छन । हाल मेचीकाली दैनिकमा कार्यरत गिरीले नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे । यस्तै, ‘सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२’ बाट छवि पाण्डे र माया केसी सम्मानित भएका छन । गोरखापत्र दैनिकमा कार्यरत पाण्डे र बुटवल टुडे दैनिककी केसीले जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गरे । पत्रकारितामार्फत सत्य, निष्पक्ष र जनपक्षीय सूचना प्रवाह गर्दै समाजमा पु¥याएको योगदानको कदरस्वरूप तीनै जनालाई सम्मान गरिएको महासंघले जनाएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सत्य र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशा दिने बताए । स्थानीय सरकारले पत्रकारिताको विकास तथा प्रेस स्वतन्त्रताको संरक्षणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले बदलिँदो चुनौतीका बीच पत्रकारिता विश्वसनीयता र व्यावसायिक निष्ठा कायम राख्नुपर्नेमा जोड दिँदै यस्ता पुरस्कारबाट पत्रकारलाई थप जिम्मेवार र अनुसन्धानमूलक पत्रकारितातर्फ प्रेरित गर्ने बताईन ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्वतन्त्र प्रेस लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्दै पत्रकारितामा महिलाको बढ्दो सहभागिता उत्साहजनक रहेको धारणा राखिन ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सत्य सूचना प्रवाहले नागरिक र राज्यबीच विश्वास बढाउने भन्दै जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याए ।
पुरस्कार मूल्यांकन समितिका तर्फबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले पत्रकारितामा दीर्घ योगदान, व्यावसायिक निष्ठा र समाजप्रतिको उत्तरदायित्वका आधारमा पुरस्कार छनोट गरिएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले गुणस्तरीय पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउँदै यसले पत्रकारहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, महासंघ रुपन्देहीका सचिव सीपी खनाल तथा पुरस्कृत पत्रकारहरू अमृत गिरी, छवि पाण्डे र माया केसीले पनि मन्तव्य व्यक्त गरेका थिए ।






















