Spread the love

काठमाडौं, १० असार ।
गैरकानूनी रूपमा चिकित्सकको उपाधि प्रयोग गर्दै बिरामीको उपचारमा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको नियमित अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–८ स्थित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय चेतन ए.एम. (पौडेल) बिना अनुमति आधुनिक चिकित्सा सेवा प्रदान गरिरहेको फेला परेका थिए ।

काउन्सिलका अनुसार उनले चिकित्सकको उपाधि प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई बिरामीको निदान, उपचार तथा औषधि सिफारिस गर्ने कार्य गर्दै आएको प्रमाण फेला परेको थियो । काउन्सिलको छानबिन प्रतिवेदनसहितको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खटिएको प्रहरी टोलीले असार ९ गते चन्द्रागिरी नगरपालिका–८ बाट पौडेललाई पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेलविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’ मा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । केही महिना अघि सोही हेल्थ रिर्सोटमा एक जना बिरामी १९ दिन उपचारको नाममा ठगिएको समाचार खस्यौलीखबरडटकमले समाचार सार्वजनिक गरेको थियो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्