काठमाडौं,१५ जेठ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक हुँदैछ । दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा रास्वपाको निर्वाचन घोषणापत्र, सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ ।राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको भए पनि सरकारले त्यसभन्दा उल्लेख्य ठूलो आकारको बजेट ल्याउने तयारी गरेको स्रोतहरूले बताएका छन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटको आकार २१ खर्ब रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । सरकारले आगामी वर्ष भौतिक तथा डिजिटल पूर्वाधार विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको बताइएको छ ।




















