काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ । साथै बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भैरहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू–भागका एक–दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ ।






















