बुटवल, ७ जेठ ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तरगत बुधबार रुपन्देहीका विभिन्न स्थानबाट सडकपेटीमा कष्टकर जीवन बिताइरहेका ५ जना पुरुषको उद्धार गरिएको छ । उद्धार गरिएकाहरूलाई मानवसेवा आश्रम रुपन्देहीको संरक्षणमा राखिएको छ ।
बिहानदेखि रुपन्देही र कपिलवस्तु जिल्लाका बजार क्षेत्र, सडक किनारा तथा सार्वजनिक स्थलहरूमा खटिएका उद्धार यात्रामा सहभागी टोलीले भोक, असुरक्षा र उपेक्षाबीच जीवन बिताइरहेका सहयोगापेक्षी सडकआश्रित मानवहरूको खोजी तथा उद्धार गरेको हो । लामो समयदेखि बेवारिसे अवस्थामा सडकमा बस्दै आएका उनीहरूलाई सुरक्षित आश्रय प्रदान गर्न मानवसेवा आश्रममा ल्याइएको जनाइएको छ ।
“यो वर्षातमा कसैले पनि बस्न नपरोस् सडकपेटीमा” भन्ने मूल उद्देश्यसहित बैशाख २७ गतेदेखि अभियान सञ्चालन गरिएको हो । अभियानले देशका विभिन्न जिल्लामा जोखिमपूर्ण अवस्थामा रहेका सडकआश्रित मानवहरूको उद्धार गर्दै मानवता प्रवद्र्धनमा योगदान पु¥याइरहेको आयोजकले जनाएको छ ।
मानवसेवा आश्रम तथा आनी छोइङ ड्रोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन भइरहेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा जेठ २२ गतेसम्म जारी रहनेछ ।
उद्धार यात्रामा सहभागी टोली भोलि चन्द्रौटादेखि नेपालगन्जसम्मका सडकपेटी तथा सार्वजनिक स्थलहरूमा जोखिमपूर्ण जीवनयापन गरिरहेका सहयोगापेक्षी मानवहरूको खोजी तथा उद्धारमा खटिने कार्यक्रम रहेको छ ।




















