बुटवल, ३ जेठ ।
बुटवलका नेवार समुदायहरुलाई लक्षित गरि संचालन भएको एक महिने बाद्यबादन तथा नेवारी खानाका परिकार बनाउने तालिम सम्पन्न भएको छ । नेवार समुदायहरुलाई आफनो संस्कार, परम्परा सिकाउने उदेश्यका साथ संचालन भएको एक महिने बाद्यबादन तथा नेवारी खानाका परिकार बनाउने तालिम शनिबार सम्पन्न भएको हो ।
बुटवल उपमहानगरपालिकाको सहयोग, नेवा देय दबू तथा नेवा मिसा दबू बुटवल नगर समितिको आयोजनामा भएको एक महिने तालिममा बासुरी र मादल लगायतका बाद्यबादन बजाउने तथा नेवारी रोटीका परिकार बनाउने गरि दुई फरक फरक समुहमा प्रशिक्षण गरिएको नगर समितिका अध्यक्ष सुन्दर श्रेष्ठले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नगरभित्र रहेका सबै जातजातीहरुको संस्कृति संरक्षणमा सहकार्य गर्दै आएको बताईन ।
एक महिने तालिममा बाद्यबादनतर्फ प्रशिक्षक मोहन दलार्मीले मादल र बासुरी बजाउन ३० दिने र प्रशिक्षक लक्ष्मी प्रधानले नेवारी खाना परिकारतर्फ लाखामारी, कौडा रोटी बनाउन ३ दिने तालिम दिने छन ।
कार्यक्रममा नेवा देय देबका केन्द्रिय उपाध्यक्ष विजुला श्रेष्ठ, केन्द्रिय सदस्य चिरन्जिवी श्रेष्ठ, भिमसेन नेवा समाजका सहदेव श्रेष्ठ, संस्थाका उपाध्यक्ष भुपलाल श्रेष्ठले नया पुस्तामा लोप हुदै गएको नेवारी संस्कृति र संस्कारलाई जर्गेना गरि योजना बनाउनुपर्ने सुझाव दिए । चैत ३ गतेबाट शुरु भएको तालिममा २५÷२५ जना सहभागी रहेका थिए ।




















