बुटवल, २९ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगितामा अन्तिम चार टिमको टुगो लागेको छ । मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा संकटा क्लब, काठमाण्डौले कपिलवस्तु – ११ कपिलवस्तुलाई ११– १ को बिशाल गोल अन्तरमा पराजित गर्दै सेमीफाईनलमा स्थान बनाएको हो ।
बिस पचहत्तर युवा परिवारको आयोजनामा सिद्धेश्वर खेलमैदानमा संकटाको एकपक्षीय जितमा विदेशी खेलाडी लुसिया जोसे मोकाम्बिक्यु एक्लैले दोहोरो ह्याट्रिक सहित सात गोल गरिन । अर्की विदेशी खेलाडी कुइनाबेल अमाङ्क्राले ह्याट्रिक सहित चार गोल गरिन् । उता पराजित भएको टोली कपिलवस्तु ११ का लागि प्रतिमा मगरले सान्त्वना गोल गरिन । खेलमा संकटाकी लुसिया प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । यो जितसँगै संकटा फुटबल क्लब काठमाडौँले दोस्रो सेमिफाइनलमा अभिषेक चर्च रजहर नवलपुरसँगको भेट पक्का गरेको छ ।
बुधबार पहिलो सेमिफाइनल खेलमा पहिलो संस्करणको विजेता ट्रिनिटी क्लब वालिङ सँग विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँले सामना गर्नेछ ।
प्रतियोगिताको विजेता हुने टोलीले नगद रु.२ लाख ५० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने टोलीले नगद रु.१ लाख २५ हजार प्राप्त गर्नेछन् । विभागीय सहित कुल ८ टोलीको प्रतियोगितामा सहभागिता रहेको छ ।
भिडियो रिर्पोट






















