Spread the love

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अब अन्त्यतिर पुगेको संकेत गरेका छन् । रुसको ‘विजय दिवस’ परेडपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले युद्ध चाँडै समाप्त हुन सक्ने बताएका हुन् ।

पुटिनले भने, “मलाई लाग्छ यो विषय अब अन्त्यतिर आइपुगेको छ ।” युक्रेनलाई पश्चिमा मुलुकहरूले दिएको सहयोगबारे सोधिएको प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिएका थिए । उनका अनुसार पश्चिमी देशहरूले रुससँगको टकराव बढाउने काम गरेका छन्, जसका कारण युद्ध अझै गम्भीर बनेको छ ।

रुस र युक्रेनबीच तीनदिने युद्धविराम जारी रहेका बेला पुटिनको यो अभिव्यक्ति आएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीमाथि जित हासिल गरेको सम्झनामा रुसले प्रत्येक वर्ष ‘विजय दिवस’ मनाउने गर्दछ । यसपटकको परेडमा रुसका निकट सहयोगी राष्ट्रका नेताहरू मात्र सहभागी भएका थिए भने लामो समयपछि पहिलोपटक सैन्य हतियार प्रदर्शन गरिएको थिएन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको वार्तापछि रुस र युक्रेनबीच युद्धविरामको घोषणा गरिएको बताइएको छ । यस्तै, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले उपयुक्त समय आएपछि युरोपेली संघ रुस तथा युक्रेनसँग छुट्टाछुट्टै वार्ताका लागि तयार रहेको बताएका छन् ।

पत्रकार सम्मेलनमा पुटिनले सम्भावित मध्यस्थकर्ताका रूपमा जर्मनीका पूर्वचान्सलर गेरहार्ड श्रोडरको नाम लिएका थिए । श्रोडरलाई पुटिनका निकट पश्चिमा सहयोगी तथा लामो समयदेखिका व्यक्तिगत मित्रका रूपमा चिनिन्छ ।

पुटिनले युरोपेली संघमाथि द्वन्द्व चर्काउने प्रयास गरेको आरोप पनि लगाए । उनले चेतावनी दिँदै भने, “यो खेल निकै महँगो साबित हुन सक्छ ।” युक्रेनले अझै पनि युरोपबाट ठूलो मात्रामा उपकरण र प्रविधि सहयोग प्राप्त गरिरहेको उनले बताएका छन् ।

यसैबीच, अमेरिकी नेतृत्वमा भएको शान्ति प्रयासअन्तर्गत दुवै पक्ष ठूलो संख्यामा युद्धबन्दी आदानप्रदान गर्न सहमत भएका थिए । तर, पुटिनका अनुसार यस विषयमा रुसले युक्रेनबाट अहिलेसम्म कुनै ठोस प्रतिक्रिया पाएको छैन ।

उनले आफू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष शान्ति वार्ताका लागि तयार रहेको तर त्यो स्थायी शान्ति सम्झौतापछि मात्र सम्भव हुने बताएका छन् ।

पुटिनले इरानसँग सम्बन्धित युद्धको प्रसंग पनि उल्लेख गर्दै त्यसलाई जतिसक्दो चाँडो अन्त्य गर्नुपर्ने बताएका छन् । अन्यथा सबै पक्षले ठूलो नोक्सानी बेहोर्नुपर्ने उनको चेतावनी थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्