बुटवल, १३ चैत ।
जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क सुशी तालिम सञ्चालन गरिएको छ । जापान पुगेपछि सहज रूपमा रोजगारी पाउन सहयोग पुगोस् भन्ने उद्देश्यले काइजेन अब्रोड सर्भिसेजले विद्यार्थीहरुलाई भाषासंगै सीप सिकाएको हो ।
जापान पुगेपछि तत्काल काम नपाउने चिन्ताले मानसिक दबाबसमेत झेल्ने अवस्था कम गर्न यस्ता तालिम उपयोगी हुने काइजेन अब्रोड सर्भिसेज बुटवलका प्रबन्ध निर्देशक किरण रानाले बताए । ‘अहिले २५ जना विद्यार्थीलाई तालिम प्रदान गरेका छौ ।’– उनले भने । जापानी भाषा शिक्षासँगै व्यावहारिक सीपसमेत प्रदानबाट लाभ हुने उनको दाबी छ ।
कार्यक्रमअन्तर्गत सहभागीहरूलाई सात दिनसम्म प्रशिक्षक सङ्ग्यात श्रेष्ठले व्यवहारिक अभ्यासमार्फत सीप सिकाएका थिए । तालिममा सुशी बनाउने विधि मात्र होइन, कार्य अनुशासन र जापानी कार्यसंस्कृतिबारे पनि जानकारी गराइएको थियो । यस प्रकारको पहलले जापान जाने विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई रोजगारीका अवसरहरू प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।





















