रुपन्देहीमा ८ लाखभन्दा बढीका अवैध सामान बरामद

Spread the love

बुटवल, ११ चैत ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा करिब ८ लाख ६१ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार २०८२ चैत ११ गते जिल्लाका विभिन्न नाकामा गरिएको निगरानी तथा चेकजाँचका क्रममा भन्सार छली गरी चोरी पैठारी गरिएका सामानहरू नियन्त्रणमा लिइएका हुन् ।

बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि भैरहवास्थित पशु क्वारेन्टाइन कार्यालय र बेलहिया भन्सार कार्यालय पठाइएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रहरीले सम्मरीमाई गाउँपालिका–३ तरेनीबाट स्प्राइट, चिनी र तेल, कोटहीमाई–६ बोगढीघाटबाट सरफ, तथा सम्मरीमाई–१ बरवासीबाट झुल बरामद गरेको छ । त्यसैगरी कोटहीमाई–३ मर्यादपुरबाट विभिन्न नम्बरका मोटरसाइकलसहित ४५० केजी केरा नियन्त्रणमा लिइएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाका विभिन्न स्थानबाट लेडिज कुर्ता–सुरुवाल, मोटर पाट्र्स, साडी, कपडा, किराना सामग्री र केरा बरामद गरिएको छ। शान्तीनगर, गल्लामण्डी, बैंक कलौनी, दरखस्वा लगायत क्षेत्रबाट कपडा र खाद्यान्नजन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडरियाबाट टेन्टका कपडा तथा रोहिणी गाउँपालिका–६ बोधवारबाट बोइलर कुखुरा समेत बरामद गरिएको छ ।

बेलहिया क्षेत्रबाट भने मोटरसाइकलसहित लेडिज सुट, साडी, प्लास्टिकका फुल, बिस्कुट लगायतका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणका लागि नियमित रूपमा निगरानी र चेकजाँचलाई कडाइ गरिएको बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्