Spread the love

बुटवल, ७ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले उद्योगी व्यवसायीका लागि उधारो असुलीसम्बन्धी प्रभावकारी कानुनको खाँचो रहेको बताएका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न १२औँ वार्षिक साधारण सभामा बोल्दै उनले उधारो कारोबारका कारण व्यवसायीहरू आर्थिक रूपमा दबाबमा परेको उल्लेख गर्दै असुलीलाई सहज बनाउने परिणाममुखी कानुन आवश्यक रहेको बताए । उनले आगामी कार्यकालमा महासंघको नेतृत्व सम्हाल्ने सन्दर्भमा यस्तो कानुन निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि जनाए ।

श्रेष्ठले कृषिको व्यवसायीकरण तथा कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योग विकास आफ्नो प्राथमिक योजना रहेको उल्लेख गरे। उद्योग सञ्चालनमा देखिएका चुनौतीहरू समाधान गर्दै निजी क्षेत्रको प्रवद्र्धनका लागि आफ्नो टोली सक्रिय रहने उनको भनाइ थियो । उद्योग स्थापना गर्दा ७० प्रतिशत जमिन खुला राख्नुपर्ने र ३० प्रतिशतमा मात्र संरचना बनाउन पाइने मापदण्डप्रति उनले असन्तुष्टि जनाउँदै यस्तो व्यवस्था औद्योगिक विकासको बाधक भएको बताए । उक्त प्रावधान उद्योगी व्यवसायीको सहभागितामा संशोधन गर्न सरकारलाई आग्रह गरे ।

उनले निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीले गरेका प्रतिबद्धता र प्राप्त जनमतले निजी क्षेत्रलाई आशावादी बनाएको उल्लेख गर्दै आगामी सरकारले ती वाचा कार्यान्वयन गर्नुपर्ने धारणा राखे । करका दर घटाउने प्रतिबद्धताले व्यवसायीमा आशा जगाएको भन्दै उनले उद्योगी व्यवसायीलाई सचेत रहन आग्रह गरे । मूल्य अभिवृद्धि कर (भ्याट) १० प्रतिशतबाट द्वन्द्वकालमा १३ प्रतिशत पु¥याइए पनि त्यसपछि घटाउनेतर्फ ध्यान नदिइएको उनको भनाइ थियो । उद्योग स्थापना र सञ्चालनमा जटिल प्रक्रिया, संघीय संरचनापछि प्रदेश र स्थानीय तहबाट थपिएको करको भारले व्यवसाय सञ्चालन कठिन बन्दै गएको उनले बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्योगी व्यवसायीका समस्यामा आफैंले सशक्त आवाज उठाउन नसकेको टिप्पणी गरे । खुला सिमानाका कारण उपभोक्ताको किनमेल प्रवृत्ति बाहिरिने भएकाले त्यसमा सुधार आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले रुपन्देहीको तिलोत्तमा क्षेत्रमा व्यवसायिक कृषि र औद्योगिक विकासको उच्च सम्भावना रहेको बताए । औद्योगिक नीति, कर व्यवस्था, विद्युत समस्या र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनजस्ता विषयले उद्योग व्यवसायको भविष्य निर्धारण गर्ने उनको धारणा थियो ।

कार्यक्रममा संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले स्थायित्व, सुशासन र आर्थिक गतिशीलतामा आधारित नीतिगत सुधारमार्फत देशलाई समृद्धितर्फ लैजानुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य, संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी र महासचिव राजकुमार पाण्डेलगायतले निजी क्षेत्र सुदृढीकरणका लागि नीतिगत सुधारमा जोड दिएका थिए । सो अवसरमा संघले प्रकाशन गरेको ‘बिजनेस डाइरेक्ट्री’ तथा २०८३ सालको क्यालेन्डर विमोचन गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्