बुटवल, १९ फागुन । रूपन्देहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुरक्षा व्यवस्थासहित आवश्यक सबै पूर्वतयारी सम्पन्न गरिएको छ । बिहीबार हुने निर्वाचनअन्तर्गत मौनअवधि सुरु भइसकेको छ ।
खटिएका कर्मचारीहरूले निर्वाचन सामग्रीसहित तोकिएका मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले मतदान तथा मतगणनासम्बन्धी व्यवस्थापकीय कामलाई तीव्रता दिइएको र जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा शान्ति–सुरक्षाको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । उनले मतदातालाई निर्धक्क भई मतदान गर्न आग्रह गरे ।
जिल्लामा २१३ मतदान स्थलअन्तर्गत ७३६ मतदान केन्द्र कायम गरिएको छ । ती सबै केन्द्रमा आवश्यक जनशक्ति तथा सामग्री व्यवस्थापन पूरा भएको जनाइएको छ । जिल्लाभर ७३६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । निर्वाचन प्रक्रियामा चार हजार ४०४ कर्मचारी तथा दुई हजार २०३ स्वयम्सेवक परिचालन गरिएका छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा कूल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । पाँचै क्षेत्रमा मतगणनास्थलको तयारी अन्तिम चरणमा पुगेको छ । गणनास्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान तथा तारजाली व्यवस्थापन गरी सुरक्षा प्रबन्ध कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





















