Spread the love

भैरहवा । रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रमोद कुमार यादव ले मर्चवार क्षेत्रको कृषि, पूर्वाधार र आधारभूत सेवामा केन्द्रित विस्तृत विकास योजना सार्वजनिक गरेका छन्। घरदैलोका क्रममा उनले मर्चवारलाई कृषि उर्वर क्षेत्रका रूपमा घोषणा गर्दै सिँचाइ व्यवस्थापन, कृषि उपज बिक्री केन्द्र स्थापना तथा समरीमाईको तरेनी क्षेत्रमा भन्सार नाका सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यादवले निर्वाचित भएपछि घरघरमा शुद्ध खानेपानीको धारा जडान गर्ने योजना अघि सारेका छन्। २०७४ सालमा निर्वाचित हुँदा मर्चवारलाई खपडामुक्त क्षेत्र घोषणा गरिएको स्मरण गराउँदै उनले अब सुरक्षित खानेपानी विस्तारलाई प्राथमिकता दिने बताए।

उनका अनुसार लुम्बिनी–मर्चवारी तथा मर्चवारी–भैरहवा सडक स्तरोन्नति, मर्चवार लिफ्ट सिँचाइ व्यवस्थापन, कृषि हाटबजार सुदृढीकरण र किसानको उत्पादन प्रत्यक्ष खरिद प्रणाली कार्यान्वयन गरिनेछ। समरीमाईमा निर्माणाधीन शीत भण्डार सम्पन्न गरी बीउ–बिजन केन्द्र सञ्चालन, आँखा अस्पताल सञ्चालन, १५ शैयाका अस्पताल प्रत्येक पालिकामा स्थापना तथा सुविधा सम्पन्न केन्द्रीय अस्पताल सञ्चालन योजना पनि उनले अघि सारेका छन्।

त्यस्तै मर्चवार रिङरोड निर्माण, भैरहवा विमानस्थलदेखि बेथरी–छपिया–बनघुसरी सडक स्तरोन्नति, छपियादेखि लुम्बिनी जोड्ने सडक सुधार तथा दानव नदीमा पक्की पुल निर्माण गर्ने योजना रहेको उनले बताए। डुबान क्षेत्र पहिचान गरी तटबन्ध व्यवस्थापन गर्ने, चौकचौकमा सार्वजनिक शौचालय र प्रत्येक गाउँपालिकामा दमकलको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाए।

युवालाई खेलकुदमा आकर्षित गर्न स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्ट्स एकेडेमी स्थापना, फुटबल, भलिबल र क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालन तथा तीनै पालिकामा खेलमैदान निर्माण गरिने उनले बताए। साथै मर्चवारीमाई, कोटहीमाई, समरीमाई र केवटलिया क्षेत्रलाई धार्मिक तथा ग्रामीण पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

यादवले तीनै तहका सरकारसँग समन्वय गर्दै “समृद्ध मर्चवार, खुसी मर्चवारवासी” अभियान सफल बनाउने दाबी गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्