बुटवल,१५ फागुन । उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरज पाण्डेले रुपन्देही–२ मा घरदैलो अभियानलाई तीव्र बनाइरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचन नजिकिँदै जाँदा उनी मतदाताको घर–घर पुगेर आफ्ना चुनावी एजेन्डा सुनाउँदै समर्थन जुटाइरहेका छन् ।
उनले बुटवल उपमहानगरपालिका–४ अन्तर्गत दुर्गा मन्दिर लाइन, अमरपथ, राम मन्दिर लाइन, हाटबजार तथा जेसिज चोक र सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाका मुख्य चोक तथा बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । चोक–चोकमा साना कोणसभा गर्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन् ।
स्थानीय बासिन्दा, व्यवसायी, युवा तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनले यस क्षेत्रको विकासका आफ्ना योजना प्रस्तुत गरेका छन् । घरदैलोका क्रममा उम्मेदवार पाण्डेले विशेष गरी व्यवसायीका समस्यालाई प्राथमिकतामा राखेका छन् । उनले करको दायरा स्पष्ट र पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्न वातावरण सिर्जना गरिने बताए ।
घरदैलोका क्रममा अधिकांश स्थानीयले उनको एजेन्डाप्रति सकारात्मक प्रतिक्रिया दिएको उनले बताए ।





















