बुटवल, ८ फागुन ।
रुपन्देहीमा जारी सातौ संस्करणको यू–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधिका लागि न्यू होराईजन एकेडेमी र नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी फाईनलमा प्रतिस्प्रर्धा गर्ने भएका छन । शुक्रबार भएको दोस्रो सेमीफाईनलमा पाहुना टोली सिईसि काठमाण्डौलाई ८ बिकेटले पराजित गर्दै तिलोत्तमाले फाईनलमा प्रवेश गरेको हो ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा टस जितेर नेपथ्य तिलोत्तमाले फिल्डिङ रोजेको पाहुना टोली सिईसी ३३.२ ओभरमा केवल १०८ रनमा समेटियो । सिईसीका रनबीर यादवले ३७ बलमा ३३ रन तथा इन्जामामुल हकले ५१ बलमा १७ रन बनाए । कम स्कोरमा रोक्न नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमालले १० ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । यस्तै, आशुतोष पाण्डेले ७.२ ओभरमा ४ मेडनसहित ११ रन दिएर २ विकेट तथा सागर भण्डारीले १० ओभरमा ४ मेडनसहित २० रन खर्चेर २ विकेट लिए ।
नेपथ्य तिलोत्तमाले १९.२ ओभरमा केवल २ बिकेटको नोक्सानीमा जित निकाल्यो । तिलोत्तमाका सन्दीप यादव ६४ बलमा ६७ रन बनाउँदै अविजित रहे भने अमन बोहराले २८ बलमा १६ रन जोडे । सीईसीका रोबिन भट्टले ३ ओभरमा २२ रन दिएर १ विकेट लिए । खेलको तिलोत्तमाका लक्ष्मण कुमाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ ।






















