बुटवल, ७ फागुन ।
रुपन्देहीमा जारी सातौ संस्करणको यू–१९ खड्ग प्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगितामा न्यू होराईजन एकेडेमी फाईनलमा प्रवेश गरेको छ । विहिबार भएको पहिलो सेमीफाईनलमा वेष्ट्रन क्रिकेट एकेडेमीलाई ६ बिकेटले पराजित गर्दै न्यू होराईजन उपाधि दाबेदारी पेश गरेको हो । शुक्रबार हुने दोस्रो सिसिई काठमाण्डौ र तिलोत्तमा क्रिकेट एकेडेमीको विजेतासंग न्यू होराईजनले फाईनल खेल शनिबार खेल्नेछ ।
एक्स्ट्रा टेक ओभल क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस जितेर न्यू होराईजनले ब्याटिङ्गको निम्तो दिएपछि वेष्ट्रनले पुरै ५० ओभरमा ९ बिकेटको नोक्सानीमा १४६ रनको लक्ष्य खडा गरेको थियो । वेष्ट्रनका रौनक श्रीवास्तवले अर्धसतकीय पारी खेले । उनले ९९ बलमा ६६ रनको योगदान दिए । यसैगरि असफाक खानले १०५ बलमा ४१ रन बनाए । न्यू होराईजनका सुरज खड्काले ४ तथा सुभम खनालले ३ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको न्यू होराईजन २९.३ ओभरमा ४ बिकेट नोक्सानीमा जित निकाल्यो । न्यू होराईजनको जितमा दर्श सुनारले शानदार अर्धसतकिय पारी खेले । उनले ५७ बलमा ७३ रन बनाए । उनलाई संगम पाण्डेले साथ दिए । संगमले ३८ बलमा २१ रन बनाए । खेलमा न्यू होराईजनका दर्श सुनार प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा यो पटक १९ वर्ष मुनिका खेलाडीहरुलाई लक्षित गरि प्रतियोगिता आयोजना गरिएको हो । सोमबार एक्सलेन्स सेन्टर काठमाण्डौ र रुपन्देही क्रिकेट एकेडेमीको बिचमा खेल हुनेछ । प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमी, न्यु होराईजन स्पोर्टस क्लब क्रिकेट, एक्सलेन्स सेन्टर काठमाण्डौ, पोखरा क्रिकेट एकेडेमी, रुपन्देही क्रिकेट एकेडेमी, वेष्ट्रन क्रिकेट एकेडेमीले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने छन । प्रतियोगिताको फाईनल खेल फागुन ९ गते हुनेछ ।





















