बुटवल, ५ फागुन ।
सिद्धार्थ नगरपालिका, अन्नपूर्ण टोलमा निर्माणाधीन २०० शय्याको एडभान्स इन्टरनेशनल हस्पिटल प्रा.लि. बैशाख १ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । अस्पतालको भवन तयार भइसकेको छ भने चिकित्सक तथा कर्मचारीको नियुक्ति पनि पूरा भइसकेको अस्पताल ब्यबस्थापनले जनाएको छ ।
अस्पतालमा ४ अर्ब ५० करोड रुपैयाँ लागतमा सात तलाको अत्याधुनिक भवनमा सेवा निमार्ण गरिएको छ । हस्पिटलमा न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स, अब्स–गाइनोकोलोजी लगायतका विशेषज्ञ सेवा उपलब्ध हुनेछ। रेडियोलोजी, प्याथोलोजी, अल्ट्रासाउण्ड, इसिजी, इको कार्डियोग्राफी, इण्डोस्कोपी, ब्रोंन्कोस्कोपी, कोलोनोस्कोपी जस्ता अत्याधुनिक परीक्षण तथा उपचार सुविधा पनि उपलब्ध गराइने अस्पतालका अध्यक्ष कमल भण्डारीले बताए ।
भदौं महिनादेखि सञ्चालन गर्ने योजना बनाएका थियौं, तर बिबिध कारणले औपचारिक सञ्चालन झण्डै ७ महिना पछि धकेलिएको उनले बताए । अस्पतालमा युवा व्यवसायी सुरज उप्रेतीको ५० प्रतिशत र अध्यक्ष भण्डारीको ५० प्रतिशत शेयर स्वामित्व छ । अध्यक्ष भण्डारीले स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएर नेपालीलाई विदेश जानुपर्ने बाध्यता घटाउने लक्ष्य रहेको दाबी गरे ।
हस्पिटलमा हेलीप्याडसहित उच्च प्रविधिका उपकरण राखिएको छ, जसले दक्षिण एसियाका प्रतिष्ठित देशहरू जस्तै फिलिपिन्समा प्रयोग हुने न्युरो तथा कार्डियोलोजिकल उपकरणमार्फत उपचार सेवा प्रदान तयारी भैरहेको भन्डारीको भनाई छ । अस्पतालको निर्माणाधीन भवन १ विगाहा १४ कठ्ठा क्षेत्रमा फैलिएको छ ।
अस्पतालले मुख्यतः अब्स/गाइनोकोलोजी, न्यूरोलोजी, कार्डियोलोजी, अर्थोपेडिक्स लगायतका क्षेत्रमा केन्द्रीत सेवा प्रवाह गर्नेछ। साथै, अन्तरंग र बहिरंगका सबै विशेषज्ञ सेवा पनि उपलब्ध हुने उनले बताए । भवन तथा पूर्वाधारको काम सकिएसँगै अस्पतालले जनशक्ति व्यवस्थापन र इन्टेरियरको काम पूरा गर्दैछ ।
कर्मचारीका लागि अस्पताल नजिकै १९ वटा अपार्टमेन्टको पनि व्यवस्था गरिएको छ । उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने र नेपालको पैसा स्वदेशमै रोक्ने लक्ष्य रहेको उनले बताए । एडभान्सका सञ्चालकहरुसँग यसअघि नेपालगन्ज मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव छ ।





















