काठमाडौँ,४ फागुन । आजदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने निर्वाचन अयोगले जनाएको छ ।
आयोगका अनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचारप्रसार गर्ने पाईने व्यवस्था रहेको छ । दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।





















