बुटवल, २२ माघ ।
सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतीक्षित विद्युतीय गाडी आइकार भि–२३ बुटवलमा सार्वजनिक गरेको छ । बुटवलको कालिकानगरस्थित ओमोडा एण्ड जेको शोरुममा बिहीबार आयोजित कार्यक्रममा प्रालिका कार्यकारी निर्देशक सुरज क्षेत्री र क्षेत्रीय म्यानेजर विशेष दाहालले गाडी लञ्च गरे ।
कार्यकारी निर्देशक क्षेत्रीले आइकार भि–२३ प्रदेशमै उच्च प्रदर्शन गर्ने जीवनशैलीमा आधारित विद्युतीय सवारी साधन भएको बताउँदै यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको जानकारी दिए । रेट्रो प्रेरित डिजाइनसहितको यो पूर्ण विद्युतीय अफ–रोड एसयुभीले आधुनिक प्रविधि र क्लासिक रग्ड लुकको उत्कृष्ट संयोजन प्रदान गर्ने उनले बताए ।
शोरुमका प्रबन्धक राजीव खनालले गाडी नेपाली सडकका लागि उपयुक्त रहेको बताए ।
गाडीमा ५९.९३ केडब्लूएच ब्याट्री र १०० किलोवाट मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ४०१ किलोमिटरसम्मको रेन्ज दिनेछ । २१० एमएम ग्राउन्ड क्लियरेन्स, क्लासिक गोलो हेडलाइटसहितको ‘बक्सी’ डिजाइनले यसलाई शहर र अफ–रोड दुवैका लागि उपयुक्त बनाएको छ ।
आइकार भि–२३ मा १५.४ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले, लेभल–२ एडास सुरक्षा प्रणाली तथा पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटरको ट्रंक स्पेस उपलब्ध छ । प्रिमियम लाइफस्टाइल सेगमेन्टमा प्रस्तुत गरिएको गाडीको डेलिभरी प्रि–बुकिङ गरेका ग्राहकहरूलाई एसपीजी अटोमोबाइल्सको आधिकारिक डिलर नेटवर्कमार्फत तत्काल सुरु गरिने क्षेत्रीय म्यानेजर दाहालले जानकारी दिए ।





















