बुटवल, २२ माघ ।
रुपन्देही व्यापार संघद्वारा सूचना प्रविधि व्यवसायीहरूको भेलाबाट वासुदेव शर्माको संयोजकत्वमा सूचना प्रविधि वस्तुगत उपसमिति गठन भएको छ । उपसमितिको सचिवमा ईपल भण्डारी, कोषाध्यक्षमा संजोक ज्ञवाली, सदस्यहरूमा निर्मल पाण्डे र विवेक न्यौपाने रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा रितेश ज्ञवाली र विष्णुप्रसाद गौतम छन । आफ्नो वार्षिक कार्यतालिकाअन्तर्गत रुपन्देही व्यापार संघले संघमा आबद्ध विभिन्न प्रकृतिका व्यवसायी सदस्यहरूलाई गोलबन्द गर्ने लक्ष्यसहित वस्तुगत भेलालाई तीव्रता दिएको हो ।
नवनिर्वाचित संयोजक वासुदेव शर्माले आफ्नो कार्यकालमा रचनात्मक गतिविधिहरू सञ्चालन गर्दै सूचना प्रविधि व्यवसायीहरूलाई एकजुट गराई संघलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले उपसमितिहरूलाई रुपन्देही व्यापार संघको मेरुदण्डका रूपमा जिम्मेवारी बहन गर्न आग्रह गरे । व्यवसायीका समस्याहरू पहिचान गरी समाधानतर्फ पहल गर्न उपसमितिको भूमिका महत्वपूर्ण हुने बताउँदै व्यवसाय विस्तारमा सहयोगी बन्न अनुरोध गरे । संघ सधैँ व्यवसायीका समस्यामा आवाज उठाउने प्रतिबद्धतासहित उपभोक्ताको विश्वास जितेर अघि बढेमा मात्र सफलता हासिल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघका महासचिव प्रकाशराज पौडेल, सचिव जयलाल न्यौपाने, कार्यसमिति सदस्य केदारनाथ नेपाल, प्रेमनाथ पाण्डे, सल्लाहकार मुकुन्द ज्ञवाली, पूर्व कार्यसमिति सदस्य रितेश ज्ञवाली, कार्यसमिति सदस्य विनित भट्टराईले उपसमिति गठन र त्यसको महत्वबारे प्रकाश पारे ।



















