बुटवल, २ माघ ।
रुपन्देहीमा जारी यु–१४ अन्तर एकेडेमी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा न्यू होराइजन स्पोर्ट्स क्लब र स्टार क्रिकेट क्लब विजयी भएका छन्।
स्टार क्रिकेट एकेडेमीको आयोजनामा कर्मडाँडास्थित खेलमैदानमा भएको पहिलो खेलमा न्यू होराइजनले काशी नोबेल क्रिकेट एकेडेमीलाई ३ विकेटले पराजित गर्दै अंक जोड्यो। न्यू होराइजनका रिजन बुर्लाकोटीले ४ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे।
९७ रनको लक्ष्य पछ्याएको न्यू होराइजनका अब्राहम अलिले ४३ बलमा ३८ रन बनाउँदै टोलीलाई जित दिलाए। आशिष यादवले २८ बलमा २१ रनको योगदान दिए। अब्राहम अलि ‘प्लेयर अफ द म्याच’ घोषित भए।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको देवदह क्रिकेट क्लबले २० ओभरमा केवल २७ रन बनायो। देवदहका अरुण बेल्बासेले ९ रन बाहेक अन्य ब्याटर टिक्न सकेनन्। स्टारका प्रथम घर्ती मगरले ३ तथा आदित्य यादवले २ विकेट लिए।
सामान्य लक्ष्य पछ्याएको स्टार क्रिकेट क्लबले २ विकेटको क्षतिमा सहज जित निकाल्यो। स्टारका सुप्रिम हमाल र कस्तुरी गौचनले अविजित इनिङ खेले। प्रथम घर्ती मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा रुपन्देहीका ८ क्लबका टिमलाई दुई समूहमा विभाजन गरी लिग प्रणालीमा खेलाइएको छ। शनिबार पहिलो खेल जितगढी रोयल क्रिकेट एकेडेमीबीच तथा दोस्रो खेल गुरुकुल क्रिकेट क्लब र बुटवल क्रिकेट क्लबबीच हुने प्रतियोगिताका प्रशिक्षक तथा पूर्व खेलाडी शक्ति गौचनले जानकारी दिए।





















