बुटवल, २८ पुस ।
एकपछि अर्को समस्या थपिदै जादा सुनचाँदी ब्यवसायीहरु बिकल्प खोज्नुपर्ने अवस्था आएको दुखेसो गरेका छन् । बुटवल सुनचाँदी ब्यवसायी संघ रुपन्देहीको सोमबार बुटवलमा सम्पन्न छैठौ वार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले देशको जटिल राजनीति अवस्था, विश्वबजारमा सुनको मुल्यवृद्धि भ्याट र २ प्रतिशत विलासिता कर जस्ता विषयको कारण ब्यवसायीहरु पलायनको अवस्थामा पुगेको बताएका हुन ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष धुव कुमार गहतराजले राज्यबाट फरक ढंगबाट अनुगमन गरिरहेको बताउदै यसकै आधारमा कर तोक्ने जस्ता काम भएको बताए । स्थापनाकाल देखिबाट नै भएको कारोबारलाई जोड्दै संचालक र परिवारको समेत खाता हेर्ने जस्ता काम भैरहेको उनले बताए । माघ १ गतेबाट ५ लाख भन्दा बढिको बिल नहुने जस्ता सरकारबाट लगाईएको बन्देजका कारण ब्यवसाय गर्न नसकिने अवस्था सृजना भएको उनले बताए ।
कार्यक्रममा संस्थाको प्रगति विवरण पेश गर्दै अध्यक्ष गोकुल विश्वकर्माले ब्यवसायीहरुको हकहित र क्षमता अभिवृद्धिमा भएका गतिविधिबारे प्रकाश पारे । समस्यामा परेका ब्यवसायीलाई सहयोग, सामाजिक उत्तरदायित्व अन्तर्गत खेल गतिविधि, राहतकोष स्थापना गरि सहयोग हस्तान्त्रण गर्दै आएको उनले बताए । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा संघका निवर्तमान अध्यक्ष दिपक कुमार विश्वकर्माले सुन ब्यवसायमा देखिएको समस्या उठान गर्दै समाधानका पाटाहरुबारे प्रकाश पारे । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य चेतनारायण विश्वकर्मा, पूर्व केन्द्रिय उपाध्यक्ष जोगलाल बिक, उपाध्यक्ष कृष्ण बहादुर सुनार, कोषाध्यक्ष दल बहादुर रिसाल, सचिव चुरामणी विकले सुनचाँदी ब्यवसायीहरुप्रति राज्यको दृष्टिकोण गलत रहेको भन्दै सच्याउनुपर्ने बताए ।






















