बुटवल,२५ पुस । भोलिदेखि बुटवलमा हुने सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकूद बिकास समितिको आयोजनामा बुटवलमा–११ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको खेलकूद बिकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगितामा बुटवल उपमहानगर अन्तरगत रहेका ४२ वटा सामुदायिक तथा सस्थागत विद्यालयहरुबाट १ हजार ५८८ विद्यार्थीहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा ९४१ जना छात्रा तथा ६०७ जना छात्रहरुले प्रतिस्पर्धा गर्ने खेलकूद बिकास समितिका संयोजक बोनिन पियाले बताए । प्रतियोगितामा भलिबल ,कबड्डी ,एथ्लेटिक्सतर्फ दौड, हाई जम्प ,लङ्ग जम्प, सटपुट, ज्याभ्लिङ्ग थ्रो, कराँते, तेक्वान्दो हुने संयोजक पियाले जानकारी दिए ।
प्रतियोगितामा रनिङ शिल्ड विजेता विद्यालयले नगद २५ हजार राशी प्राप्त गर्नेछ भने उपविजेता र तृतीय हुने विद्यालयलाई समेत क्रमशः १५ हजार र १० हजार नगद राशीले सम्मान गरिने संयोजक पियाले जानकारी दिए । यसैगरी छात्रा/छात्र भलिबल प्रतियोगितामा विजेता दुबै समूहलाई नगद १५ हजार, द्वितीय हुने समूहलाई ७ हजार ५ सय कबड्डी तर्फ पनि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार ७ हजार ५ सय र ३ हजार ५ सय नगद राशी प्रदान गरिने बताइएको छ । एकल प्रतिस्पर्धा तर्फ कराँते र तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय हनेलाई जनही क्रमशः २ हजार १ हजार ५ सय र १ हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ ।





















