बुटवल, २४ पुस ।
बुटवलमा शुरु भएको टेपबल क्रिकेट च्याम्पियनसिप २०२५ मा ग्राण्ड कस्मो लुम्बिनी र रोट्याक्ट क्लब अफ तिलोत्तमा विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग, टेप बल काउन्सिल अफ नेपालको समन्वयमा पृथ्वीनारायण शाह स्र्पोटस फाउण्डेसन बुटवलको आयोजनामा विहिबार भएको उद्घाटन खेलमा ग्राण्ड कस्मोले देविनगर क्रिकेट क्लबलाई १७ रन तथा रोट्क्याक्ट क्लब अफ तिलोत्तमाले लुम्बिनी चक्रधारी ११ लाई ४ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
टेपबल क्रिकेट खेलको प्रवद्र्धन गर्ने गरि रुपन्देहीमा पहिलोपटक प्रतियोगिता आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष निरज प्रताप खाँडले बताए । बुटवल रामनगरस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा टस जितेर देविनगरले फिल्डिङ रोजे पछि ब्याटिङ गर्न मैदान प्रवेश गरेको ग्राण्डका ब्याटरहरुले निर्धारित १० ओभरमा १३० रनको लक्ष्य खडा गरेको थिए । जसमा रमजान अलिले २१ बलमा ५१ तथा करम हुसैनले २४ बलमा ३० रनको योगदान दिए । देविनगरका बिपिन भट्टराई र जगत क्षेत्रीले समान १–१ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको देविनगर ७ बिकेटको नोक्सनीमा ११२ रनमा समेटियो । देविनगरका कमल रायमाझी र शिव चौधरीले समान १९÷१९ रनको योगदान दिए । ग्राण्ड कस्मोका करम हुसैन र दीप सिहले समान २–२ बिकेट लिए । खेलमा ग्राण्डका रमजान अलि म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर लुम्बिनीले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न मैदान प्रवेश गरेको रोट्याक्टले ६ बिकेटको नोक्सानीमा ११३ रनको लक्ष्य खडा गरेको थियो । रोट्याक्टका अजय पाण्डेयले ३९ र त्रिदेव केसीले २२ रनको योगदान दिए । मध्यम लक्ष्य पछ्याएको लुम्बिनी ४ बिकेटको नोक्सानीमा केवल १०९ रनमा रोकियो । लुम्बिनीका अमन भटले ३७ तथा अजय खानले ३३ रनको योगदान दिए । रोट्याक्टका त्रिदेव केसीले २ बिकेट लिए । खेलमा उनि म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको एक समारोहका बिच नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले एम्पायरलाई बल हस्तान्तरण गरि उद्घाटन गर्दै खेलकुद प्रवद्र्धनमा बुटवल निरन्तर लागेको दाबी गरे । देशभरकै पालिकाहरुमध्ये बुटवल एकमात्र खेलमैत्री बजेट बिनियोजन गर्ने पालिका भएको समेत उनले बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि प्लेयर अफ दी सिरिजलाई नगद १५ हजार एवं उत्कृष्ट ब्याटर, उत्कृष्ट बलरलाई नगद पाच पाच हजार रुपैया, कपबाट पुरस्कृत गरिने छ । प्रतियोगितामार्फत जिल्लामा टेपबल क्रिकेटको विकास र विस्तार गर्नुका साथै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने लक्ष्य रहेको उनले बताए । पुस २७ गतेसम्म चल्ने प्रतियोगिता १० ओभरको फम्र्याटमा सञ्चालन हुने तथा ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा ग्राण्ड कस्मो लुम्बिनी, देबिनगर क्रिकेट क्लब, लुम्बिनी नव युवा, मर्निङ क्रिकेट क्लब, रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, लुम्बिनी युथ क्लब, राधाकृष्ण क्रिकेट क्लब तथा सनाया होलिडेज ट्राभल्स सहभागी हुनेछन ।





















