बुटवल, १६ पुस । पर्यटन प्रवद्र्धनको खोक्रो गफ छोडेर एक्सनमा उत्रने बेला आएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । सरकारको मुख ताक्दा धेरै ढिला भैसकेको भन्दै अब नीजि क्षेत्र अघि बढेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उनिहरुको सुझाव छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजनामा बुटवलमा भएको ‘समृद्धिको आधार ः पर्यटन, पर्यटकीय गन्तब्य बुटवल’ विषयक पर्यटन गोष्ठीमा बोल्ने सहभागीहरुले पर्यटकीय गन्तब्य पहिचान गरि त्यसको प्रचारप्रसारसहित अघि बढ्न सकेमात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
कार्यक्रममा पर्यटनविद डिबि गुरुङले कार्यपत्र प्रस्तुत गर्दै पर्यटनको खोक्रो नारा छोडेर अब एक्सनमा आउने बेला भएको बताए । पर्यटनका लागि आवश्यक तत्वहरुमा सुरक्षा ब्यवस्था, सडक, उर्जा, संस्कृति, भौतिक संरचना, होटल, आतिथ्यता, कोसेली, उद्यानहरु, पथप्रदर्शकहरु, यातायात, खाना, खाजा, वाइफाई जोन, प्राकृतिक धार्मिक, ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय स्थलहरु मुख्य रहने भन्दै त्यसलाई भजाउन नसक्दा पछि परिएको उनको दाबी छ । यसैगरि उनले पर्यटन प्रवद्र्धन समन्वय समिति गठन गरेर अघि बढ्न जरुरी रहेको सुझाव दिए । दीर्घकालीन मास्टर प्लान बनाउन जरुरी रहेको औल्याउदै पर्यटन दुत घोषणा गर्ने, नेचर गाईडल, टुरफगाईड तयार गर्ने जस्ता काम गर्नुपर्ने बताए । पर्यटन ब्यवसायमात्र नभई उद्योग पनि हो भन्ने सोच र योजनालाई अगाडि बढाउन समेत सुझाव दिए । अहिलेसम्म लुम्बिनी पर्यटन परिषदबाट पर्यटन नीति बनाउने काम अघि बढेको दाबी गर्दै देशका अन्य प्रदेशमा यो काम हुन नसकेको बताए । नीति नभएपनि योजनामार्फत विभिन्न काम अघि बढाएको उनले बताए । गतवर्ष ‘जाऔ है बर्दिया’ र यो वर्ष ‘जाऔ धारापानी’ नारा अघि बढाएर धार्मिक पर्यटन प्रवद्र्धन अघि बढाएको छ । सास्कृतिक र प्राकृतिक पर्यटनमार्फत स्थानियलाई रोजगार दिने योजना बनाएको छ। नेपाल पर्यटन नितिले प्रविधिमैत्री बनाउन, निजि लगानीलाई प्रवद्र्धन र जोड दिनुपर्ने सुझाव दिएको छ । सपना दुरदृष्टि देख्ने, प्रतिज्ञा गर्ने, प्रतिवद्घता गर्ने र संकल्पसहित योजनामा लाग्नुपर्ने बताए ।
कार्यक्रममा टिप्पणीकर्ता युवराज घिमिरेले नेपालमा भित्रने पर्यटकहरुमध्ये सबैभन्दा धेरै ६५ प्रतिशत मनोरन्जन, ११ प्रतिशत धार्मिक पर्यटक रहेको भन्दै यसआधारमा नै नीजि क्षेत्रको लगानी गर्नुपर्ने बताए । नेपालमा भित्रने १२ लाख पर्यटकमध्ये करीब ३.४ दिन बास बस्ने र ५९०० रुपैया खर्च गर्ने दर देखिएको भन्दै नेपालको आर्थिक समृद्धिमा पर्यटन जोडिन नसकेको बताए । ‘जिडिपिमा केवल २ प्रतिशत भन्दा बढि योगदान छैन ।’–उनले भने । नेपाल आउनेमध्ये ७१.५९ प्रतिशत पर्यटकलाई भाषागत, यातायात र सुरक्षाको समस्या देखिएको उनले बताए । नेपाल राष्ट्र बैकको तथ्याकमा ९४ प्रतिशत नगदै खर्च गर्ने गरेको पाउछौ । अर्कोतर्फ होटल कि पर्यटन ब्यवसायी छुट्टिन जरुरी रहेको उनले बताए । नितिगत रुपमा ब्यवसायसहित संरचनागत र ब्यवहारिक परिवर्तन जरुरि रहने उनले बताए । धेरै मेहनत जरुरी छ ।
कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले हाल बुटवलमा ९ सय बढी होटलहरुमा करीब १ हजार जना पर्यटकलाई राख्न सकिने अवस्था रहेको बताए । सरकारको मुख ताक्न नपर्ने अवस्था सृजना गर्न सकिन्छ । संघसंस्थाहरुले वार्षिक योजना बनाउने, बजेट बिनियोजन गर्ने र दीर्घकालीन रुपमा लाग्नुपर्ने उनले सुझाव दिए । प्रदेश सरकारले उद्योग, पर्यटन र कृषिमार्फत प्रदेशको समृद्धि नारा अघि बढाएको भएपनि त्यो नारामा नै सीमित रहेको छ ।
कार्यक्रममा महासचिव केशवराज कंडेलले नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको सम्मान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन, विकास र रोजगारी सृजना गर्ने उद्देश्यसहित आयोजना गरिएको बुटवल सडक खाना महोत्सव–२०८२ आयोजना गरिएको बताए ।
कार्यक्रममा संघका सल्लाहकार माधव नेपाल, निवर्तमान अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ, कुलचन्द्र पाण्डे, नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, कोषाध्यक्ष अर्जुन पोखरेलले धेरै कानुन विकासको बाधक बनेको भन्दै यो समाधानमा सरकार लाग्नुपर्ने बताए । जनशक्ति अभाव र स्किलपूर्ण नहुदा पनि समस्या छ ।





















