काठमाडौं, ४ असोज ।
खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा अखिल नेपाल फुटबल संघ (एन्फा), सातदोबाटो, ललितपुरमा कोषाध्यक्ष पदमा कार्यरत ललितपुर महानगरपालिका–३, पुल्चोक निवासी ६० वर्षीय रविन्द्र जोशी र एन्फाका लेखा अधिकृत ललितपुर महानगरपालिका–५, लगनखेल, थसीखेल निवासी ५५ वर्षीय सञ्जिव पाण्डे रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राष्ट्रिय खेलकुद परिषद्, प्रधान कार्यालय त्रिपुरेश्वरबाट प्राप्त पत्र तथा बसन्त रिजालको निवेदन/जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनामाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसुर मा अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी दिईएको छ ।
दुबैलाई जिल्ला अदालत ललितपुरबाट पहिलो पटक चार दिनको म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।



















