बुटवल, ४ असोज ।
एन प्याब्सनमा आवद्ध विद्यालयका शिक्षकहरुलाई लक्षित गरि बुटवलमा नवीन शिक्षण पद्धति तथा कृत्रिम बौद्धिकता (एआई) र सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोगसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख विष्णु प्रसाद पन्थीले उद्घाटन गर्दै एआई र आईसिटि महत्वपूर्ण विषय भएको भन्दै कक्षाकोठाको शिक्षण सिकाईको अभिन्न अंकका रुपमा यो रहेको बताए ।
समयसापेक्ष शिक्षणसिकाईमा एआई टुललाई रचनात्मक रुपमा उपयोग गर्ने तालिम उपलब्धिमुलक हुने उनले बताए । नक्कल गर्ने प्रवृद्धिको विकास संगै भएको छ जसका कारण मानविय बुद्धिलाई एआईले नष्ट गर्ने हो कि भन्ने चुनौती देखिएको उनले बताए । विद्यार्थीहरुलाई एआईको सक्रिय प्रयोगकर्तामात्र नभई एआईको उत्पादन गर्ने क्षमता विकास गर्न आवश्यक रहेको उनले सुझाव दिए । विश्व अर्थतन्त्रमा प्रतिस्प्रर्धा गर्न पनि एआइमा आधारित उद्यमशिलता विकास गर्न जरुरी रहेको उनले बताए । ‘एआई टुल्स हामीले किन उत्पादन नगर्ने ?’–उनले प्रतिस्प्रश्न गरे । यसैगरि विद्यालयमा निरन्तर मुल्याकन विधिमा जोड दिन सके वर्तमान प्रविधिको चुनौतीलाई समाधान गर्न सकिने समेत उनले दाबी गरे । प्राक्टिकल शिक्षातर्फ जोड दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा एनप्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउने, कक्षाकोठामा एआई तथा आईसीटीको प्रभावकारी प्रयोग गर्ने, नवीन शिक्षण विधि अपनाउने तथा डिजिटल प्रविधिमार्फत शिक्षणलाई थप प्रभावकारी बनाउने गरि यस तालिम तथा शिक्षकहरुको क्षमता विकासका कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको बताए ।
तालिममा सहभागीहरुलाई एआई मेशिन लर्निङ ईन्जिनियर अमृत रानाभाट र रिसर्च ट्रेनर ई बिनय शर्माले सहजिकरण गरेका थिए ।
कार्यक्रममा एनप्याब्सनका केन्द्रिय उपमहासचिव विष्णु प्रसाद पौडेल, केन्द्रिय सचिव बालाकृष्ण तिवारी, केन्द्रिय सदस्य बिल प्रसाद गुरुङ, पुरुषोत्तम बश्याल, जिल्ला कोषाध्यक्ष कमल पौडेल, सहसचिव लक्ष्मण अर्याल, सहकोषाध्यक्ष शंकर गौतमले शिक्षण क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा शिक्षक तथा शिक्षासँग सम्बन्धित व्यक्तिलाई नयाँ प्रविधिबारे जानकारी दिन कार्यक्रम फलदायी हुने बताए ।



















