Spread the love

बुटवल,४ असोज ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नेपालमा विद्युतीय व्यवसायको सम्भावना र भविष्य उज्यालो रहेको बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको बुटवलमा आयोजित १७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख घर्तीले उनले व्यवसाय क्षेत्रको विकासका लागि दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताउँदै मानिस र समाजको परिवर्तनका लागि सकारात्मक सोच आवश्यक हुने धारणा राखे ।

उनले संघीय सरकारप्रति आशा भए पनि विश्वास गर्न सक्ने अवस्था नरहेको प्रदेश बताए। ठूलो धनजनको क्षतिपछि बनेको करिब दुई तिहाइको सरकारबाट नागरिकले अपेक्षा गर्नु स्वाभाविक भए पनि सरकारका गतिविधिले विश्वास जगाउन नसकेको उनको भनाइ थियो । देश बाढीको पीडामा रहेका बेला स्वदेश तथा विदेशबाट ठूलो सहयोग जुटेको उल्लेख गर्दै उनले प्राप्त सहयोगको उचित सदुपयोग भए–नभएको विषयमा निरन्तर निगरानी आवश्यक रहेको बताए।

महासंघका अध्यक्ष दिलीपकुमार अग्रवालले अस्थिर सरकार र निहित स्वार्थका कारण देश तथा नागरिकको अवस्था अपेक्षाअनुसार विकास हुन नसकेको बताए। वर्तमान सरकारले विद्युतीय व्यवसायसँगै आम नागरिकको हितमा काम गर्ने अपेक्षा राख्दै त्यसमा महासंघको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।

उनले भन्सार तथा करसँग सम्बन्धित समस्या समाधानका लागि सरकार अग्रसर हुने विश्वास व्यक्त गरे। विद्युतीय व्यवसाय आधारभूत आवश्यकतासँग जोडिएको क्षेत्र भएकाले बैंकिङ झन्झट हटाउन र एकीकृत डिजिटल प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष रेशमप्रसाद देवकोटाले विद्युतीय व्यवसायमा धेरै कामकाजी समस्या रहेको उल्लेख गर्दै व्यवसायीको हकहितका लागि सरकारले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले व्यवसायीका समस्या समाधान भएसँगै व्यवसाय र नागरिक दुवैको उन्नति हुने बताए। उनले लगानीको सुनिश्चितता हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । रुपन्देही विद्युतीय व्यवसायी संघको सह–आयोजनामा भएको कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष गोपाल अग्रवाल, महासचिव शंकर देवकोटा, रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष केशवकुमार सिंह ‘सुजित’, मुख्य प्रायोजक ब्रिलेन्ट एलईडीका निर्देशक श्याम शाहलगायतले नेपालमा विद्युतको पर्याप्त सम्भावना रहेकाले विद्युतीय व्यवसायको भविष्य उज्यालो रहेको धारणा राखेका थिए ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुली, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईलगायतको उपस्थिति थियो । महासंघले देशभरका २२ शाखामध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने चितवन विद्युत् व्यवसायी संघलाई प्रथम, मोरङ इलेक्ट्रिकल संघलाई द्वितीय र काठमाडौं विद्युतीय व्यवसायी संघलाई तृतीय स्थान प्रदान गर्दै पुरस्कृत तथा सम्मान गरेको थियो। कार्यक्रममा बाढी प्रभावितका लागि सहयोग गर्ने तथा कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सहयोगी दातालाई समेत सम्मान गरिएको थियो।

 

 

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्