Spread the love

बुटवल,४ असोज ।

नेपाल मगर महिला संघ, रुपन्देहीले बुटवलमा दोस्रो मगर साहित्य महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । मगर समुदायको भाषा, साहित्य, इतिहास, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले मंसिर २६ र २७ गते महोत्सव आयोजना गर्न लागेको हो ।

संघले आइतवार बुटवलमा पत्रकार भेटघाट गर्दै महोत्सवमा देशभरका लेखक, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी, युवा, महिला, कलाकार तथा नीति–निर्माताको सहभागिता रहने जनाएको छ । पत्रकार भेटघाटमा महोत्सव सचिवालयकी प्रवक्ता राधिका श्रीषले महोत्सवलाई मगर समुदायको साहित्य र संस्कृतिमा केन्द्रित कार्यक्रमका रूपमा मात्र नभई इतिहास, पहिचान र समसामयिक विषयमा बहस गर्ने साझा थलोका रूपमा विकास गर्न खोजिएको बताइन् ।

‘साझा बोध, जिम्मेवारी र साझा कदमको यात्रा’ भन्ने मूल सन्देशसहित बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना हुने महोत्सवमा मगर समुदायको इतिहास, संस्कृति, समसामयिक राजनीतिक अवस्था, भाषा र पहिचानलगायत विषयमा ११ वटा सत्रमा विमर्श तथा बहस हुनेछन् । महोत्सवका निर्देशक शंकर गाहाले मगर समुदायसँग जोडिएका विषयलाई फरक कोणबाट बहसमा ल्याउने गरी सत्रहरू तय गरिएको बताए ।

महोत्सवमा मातृभाषा कविता प्रतियोगिता, पुस्तक तथा भेषभूषाका स्टल र मगर समुदायका मौलिक परिकारका स्टल रहनेछन् । नेपाल मगर महिला संघ, रुपन्देहीकी अध्यक्ष तथा दोस्रो मगर साहित्य महोत्सव–२०८३ की संयोजक निर्मला थापा मगरले मगर समुदायको इतिहास र संस्कृति आफैंले अभिलेखीकरण गर्दै नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन् । उनले महोत्सवलाई मगर समुदायका विषयमा बहस गर्ने र ज्ञान आदानप्रदान गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको बताइन् ।

महोत्सवका अवसरमा गोरेबहादुर खपांगी मगर सामाजिक सेवा पुरस्कार र जीत–रेख मगर साहित्य पुरस्कार प्रदान गरिनेछ । दुवै पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । मगर भाषा कविता प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

 

 

 

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्