काठमाडौँ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्लेमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दिउँसो २ बजेतिर हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको इभी सडकबाट भीरमा तल खसेर दुर्घटना हुदा ४ जना गम्भिर घाईते भएका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा नवलपरासीपूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् । शवलाई हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरि प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार घाईतेहरु मकवानपुर हेटौँडाकी कल्पना तामाङको ढाड, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ । बाराकै २१ वर्षीया बबियाकुमारी यादवको अवस्था मध्यम छ । चालक बारा कलैयाका २० वर्षीय अमिर अन्सारी रहेका र उनको अवस्था गम्भीर छ । बोल्न नसक्ने मकवानपुरका राजकुमार स्याङतानको अवस्था गम्भीर रहेको छ । बबियाकुमारीको हेटौँडामा र अरुको उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।




















