काठमाण्डौ। अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएका छन् । गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । यसअघि अस्ट्रेलियाको क्रिकेटिङ संस्था ‘सिम स्ट्राइक’ले पनि वार्नरले एनपीएल खेल्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । वार्नरले उक्त पोस्टलाई लाइकसमेत गरेका थिए ।
३९ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि दुईपटक एकदिवसीय विश्वकप, एकपटक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेका छन् । उनले सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, २०२१ को टी–२० विश्वकप तथा २०२३ को विश्व टेस्ट च्याम्पियनसिप जितेका हुन् । उनी अस्ट्रेलियाका लागि तीनवटै फम्र्याटमा शतक बनाउने खेलाडी पनि हुन् । वार्नरले टी–२०आईमा ११० खेल खेल्दा १ शतकसहित ३२०० भन्दा बढी रन बनाएका छन् ।
समग्र टी २० मा वार्नरले ४३९ खेलमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार भन्दा बढी रन बनाएका छन् । उनले भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग क्रिकेट, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल, भाइटालिटी ब्लास्टमा खेलेका छन् ।




















