काठमाडौं,२८ भदौ ।
सन् २०२७ मा घोषणा हुने ९९ औं एकेडेमी अवार्डका (अस्कर )लागि नेपालबाट फिल्म ’तिनीहरूः एलिफेन्ट्स इन द फग’ छनोट भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)का अध्यक्ष लक्ष्मीनाथ शर्माले आइतबार प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरेका छन् ।
अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न दुई नेपाली फिल्मले आवेदन दिएका थिए । छनोट समितिका अनुसार ’तिनीहरूः एलिफेन्ट्स इन द फग’ र ’गौंथली’मध्येबाट ’तिनीहरूः एलिफेन्ट्स इन द फग’लाई नेपालको प्रतिनिधि फिल्मका रूपमा छनोट गरिएको हो ।
दुवै फिल्मको मूल्यांकनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, पात्रहरूको भावनात्मक पक्ष तथा कलात्मक शिल्पलाई आधार बनाएर ’तिनीहरूः एलिफेन्ट्स इन द फग’ छनोट गरिएको समितिले जनाएको छ । तिनीहरूः एलिफेन्ट्स इन द फग’ यसअघि नै अन्तर्राष्ट्रिय मञ्चमा चर्चा बटुलिसकेको फिल्म हो।
कान्स फिल्म फेस्टिभलको ’अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको फिल्मले सोही विधामा जुरी पुरस्कार समेत जितेको थियो। यो कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिल्म बनेको हो । कान्समा ऐतिहासिक उपलब्धि हासिल गरेपछि फिल्म अहिले नेपालमा प्रदर्शनरत छ ।




















