बुटवल, २६ भदौ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटीहवामा ‘कोटीहवा तीज सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । ‘विकास, अनुशासन र गतिशीलताको आधार’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सव भदौ २८ गते असोज ८ गतेसम्म १२ दिनसम्म चल्ने कार्यक्रमको तयारी पुरा भएको शुक्रबार पत्रकार सम्मेलन गरि आयोजक राधाकृष्ण इभेन्टमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्टका संचालक सुमन पन्थीले बताए । कार्यक्रमको बचत रकममध्येबाट ५ प्रतिशत बाढीपिडित र ५ प्रतिशत नगरपालिकालाई छुट्याउने उनले बताए ।
राधाकृष्ण एम्युजमेन्ट प्रालिको आयोजना, गुरुङ राष्ट्रिय परिषद ईकाई समिति तिलोत्तमा १५ र लिस्नु युवा क्लबको सहआयोजनामा तिलोत्तमा–१५, रुपन्देहीमा हुने कार्यक्रमले नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै स्थानीय कलाकार तथा संस्कृतिको प्रवद्र्धनमा योगदान पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवमा चर्चित कलाकारहरू त्रिशना गुरुङ, लाहुरे लगायतका कलाकारसँगै ज्योति मगर, शान्तिश्री परिवार, एलिना चौहान, रचना रिमाल, हाउडे मगर (सृजना खत्री), पवित्रा खड्का, गंगु क्षेत्री, एकराज थापा, श्याम राना, प्रकाश सपुत, प्रिति आले र समीक्षा अधिकारी लगायत कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ । कार्यक्रममा राधाकृष्णका राजिव गुप्ता, गज बहादुर गुरुङले सास्कृतिक महत्वलाई जर्गेनासंगै मनोरन्जन दिने गरि सागितिक कार्यक्रम गर्न लागेको बताए ।



















