बुटवल, २९ पुस ।
बुटवलमा जारी एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिताको फाईनलमा न्यू होराईजन इंग्लिस बोर्डिङ स्कुलले स्थान बनाएको छ । मंगलबार भएको सेमीफाईनल खेलमा कुवरवर्तीलाई २–१ सेटमा पराजित गर्दै न्यू होराईजन फाईनलमा प्रवेश गर्दै उपाधि दाबेदारी पेश गरेको हो । न्यू होराईजनले सोमबार बुटवलमा सम्पन्न सातौ राष्ट्रपति कपको भलिबलको समेत उपाधि चुमेको थियो ।
यता मंगलबार भएको क्वाटरफाईनलमा आयोजक एभरेष्ट ईगलिस बोर्डिङ स्कुलले मदरटंङ्ग इंग्लिस बोर्डिङ स्कुललाई २–० तथा अर्को क्वाटरफाईनलमा कान्ति माबिले सगरमाथा इंग्लिस बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा नै पराजित गर्दै सेमीफाईनल भिडन्त पक्का गरेका छन । एभरेष्ट र कान्ति बिचको सेमीफाईनल खेलको विजेताले न्यू होराईजन सँग उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने खेल संयोजक अर्जुन घिमिरेले बताए ।
प्रतियागिताको उपाधि विजेता टिमले नगद ३० हजार रुपैया, कप,, मेडल, प्रमाणत्र तथा उपविजेता टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा तृतीय टिमले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने विद्यालयका सहप्राचार्य भिमसेन गौतमले बताए । सोमबारदेखि सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्लाका १६ सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्रतिस्प्रर्धा गरेका छन । दशौ संस्करणको विजेता न्यु होराइजन मावि तथा उपविजेता कालिका मानवज्ञान मावि थिए ।






















