कपिलवस्तु, २९ पुस ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा नगरस्तरीय सातौ माघी महोत्सव आयोजना हुने भएको छ । थारु कल्याणकारिणी सभा बाणगंगाको आयोजनामा थारु समुदायको मौलिक भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ माघ २ गतेदेखि ४ गतेसम्म सातौ माघी महोत्सव हुने भएको हो ।
महोत्सवस्थल बाणगंगा नगरपालिका–२ लखनपारा, धनकौलीस्थित पूर्व डम्पिङ क्षेत्र चाकलचौडामा आयोजना गरिने महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम चौधरीले तयारी बारे जानकारी दिए ।कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य उमाशंकर चौधरीले थारु समुदायको भाषा, संस्कृति र परम्परा पछिल्ला दिनहरूमा लोप हुदै गइरहेको अवस्थामा यसको संरक्षण गर्न माघी महोत्सवलाई निरन्तरता दिइएको बताए ।
माघी पर्व केवल मनोरञ्जनको पर्व मात्र नभई थारु समुदायको अधिकार, पहिचान र आत्मसम्मानसंग जोडिएको महत्वपूर्ण पर्व भएको उनले बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलराम भुसालले थारु समुदायको माघी पर्व आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । उनले माघीले समुदायभित्र एकता कायम गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र सहकार्यको भावना विकास गर्ने भएकाले यस्ता सांस्कृतिक पर्वहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यस वर्षको माघी महोत्सवमा थारु संस्कृतिलाई झल्काउने विविध कार्यक्रमहरू समावेश गरिएका छन् । महोत्सवअन्तर्गत थारु सांस्कृतिक झाकी ¥याली, विभिन्न सांस्कृतिक प्रस्तुति, थारु परम्परागत खानपिनको प्रदर्शनी तथा बिक्री, थारु समुदायका सीप तथा हस्तकलाको प्रदर्शन जस्ता कार्यक्रमहरू सञ्चालन गरिने थारु कल्याणकारिणी सभा बाणगंगाका नगर कार्यवाहक अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम चौधरीले बताए । महोत्सवमा थारु संस्कृतिक झुमरा नाच, मयूर नाच, सजनी–विरहनी गीत, रेकर्ड डान्स हुनुको साथै राष्ट्यि तथा स्थानिय कलकारको समेत विजोड प्रस्तुति रहने छ ।
त्यसैगरी, समाजमा योगदान पु¥याएका सेवा वृत्तका कर्मचारीहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम समेत समावेश गर्नुको साथै, महोत्सवको पूर्वसंध्यमा पहिलो दिन अर्थात् माघ २ गते रक्तदान कार्यक्रमको आयोजना गरेको थारु कल्यणकारी नगर सभाका सचिव सृजना थारुले बताईन ।






















