बुटवल, १६ भदौ ।
बुटवल उपमहानगरपालिका–३ स्थित संघर्ष टोल विकास संस्था र संघर्ष टोल आमा समूहले बाढीपीडित परिवारका लागि ५१ हजार रुपैयाँ राहत सहयोग गरेका छन् । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको र सयौँ नागरिकले ज्यान गुमाउनुका साथै हजारौँ परिवार प्रभावित तथा विस्थापित भएको भन्दै संस्थाले मानवीय सहयोगस्वरूप सो रकम सहयोग गरेको हो ।
संघर्ष टोल विकास संस्थाको १३ हजार रुपैयाँ र संघर्ष टोल आमा समूहको ३८ हजार रुपैयाँ गरी कुल ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको टोल संस्थाका अध्यक्ष राजकुमार पाण्डेले बताए । विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट समेत गरिएको छ । पीडितहरूको राहत तथा पुनःस्थापनामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको आमा समुहकी अध्यक्ष रमिसरा बरालले बताईन ।





















