पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । लामागाउँमा ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा–१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा चोट लागेकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक पोखरा–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क. समेत घाइते भएका छन् । उनको टाउको र दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस र चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















