बुटवल, १ भदौ ।
बुटवलमा प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा अक्सफोर्ड ईगलिस बोर्डिङ स्कुल विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा अक्सफोर्डले देवसिद्घ ई बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको हो । अक्सफोर्डको जितमा एलेक्स छन्त्यालले २ तथा नेल्सन रास्कोटीले १ गोल गरे । एलेक्स खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि सोमबार नै भएको दोस्रो खेलमा ग्यालेक्सी ई बोर्डिङ स्कुलले अन्नपूर्ण बोर्डिङ स्कुललाई ७–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । ग्यालेक्सीको जितमा प्रसर बस्नेतले ५, मानव बिक र रितिक परियारले १/१ गोल गरे । खेलमा प्रसर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
सैनामैनाले बुटवल ग्लोरीलाई ६–० गोल अन्तरले पराजित गरेको छ । सैनामैनाको जितमा नबिन बिकले ३, सागर नेपालीले २ तथा सुभाष नेपालीले १ गोल गरे । खेलमा नबिन प्लयेर अफ दी म्याचबाट पुरस्कृत भए ।
अर्को खेलमा जनज्योतीले सुनगाभा ई बो स्कुललाई ९–० गोल अन्तरले पराजित गरेको छ । जनज्योतीको जितमा अलविस गुरुङले ५, बिपिन थापा र नमन बिकले समान २/२ गोल गरे । खेलमा अलविस गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । सोमबारको अन्तिम खेलमा दीप बोर्डिङ स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै ईभरग्रिन ईगलिस बोर्डिङ दोस्रो चरणमा प्रवेश गरेको छ । एभरग्रिनको जितमा रोज थापाले एकमात्र गोल गरे । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैया तथा उपविजेता टिमले नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका छन ।
कार्यक्रमको एक समारोहका बिच अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले उद्घाटन गर्दै सरकार र संघबाट हुन नसकिरहेको खेल गतिविधिलाई निजी विद्यालयको अगुवाईमा गर्न सफल भएको बताए । विश्व फुटबलले निलम्बन गरेको हुदा नेपालको फुटबल असहज परिस्थितीमा रहेको भन्दै उनले यसमा आफु पनि दोषी रहेको स्वीकारे । फुटबलको विकासमा विद्यालयहरुको योगदानबारे चर्चा गर्दै उनले केही महिना अघि ७७ वटै जिल्लाका विद्यालयहरुसंग सहकार्य गरेर ग्रासरुट खेल विकासका लागि खेलकुद सामग्री वितरण गरेको बताए । यसलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले बताए । रुपन्देहीमा भएका खेलकुद संरचनालाई ब्यवस्थित गर्नेतर्फ तीन तहकै सरकारको ध्यान नगएको उनले गुनासो गर्दै केवल संघप्रति प्रश्न गर्ने काम भएको बताए । खेलकुदलाई हेर्ने दृष्टिकोण निरन्तर परिवर्तन भईरहेको उनले बताए । निकट भविष्यमा नै नेपाल सहभागी हुन लागेको यु–१५ विश्वकपमा सहभागी हुने खेलाडी छनौटका लागि ७७ वटै जिल्लामा काम भैरहेको भन्दै उनले यो प्रतियोगितामा सहभागीमध्येबाट उत्कृष्ट खेलाडी पर्ने सम्भावना रहेको उनले बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य शंकर भण्डारीले खेलकुद हरेक विद्यार्थीलाई जरुरी रहने बताए । खेलकुदमा आवद्ध विद्यार्थीहरुमा शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहने हुदा अध्ययनमा रुचि बढ्नुका साथै स्मरण शक्ति वृद्धि हुने बताए । खेलकुदलाई विद्यालयमा अनिवार्य रुपमा अप्नाउनुपर्ने जोड दिए । ग्रासरुटबाट खेलकुदमा आवद्ध बालबालिकाहरु युरोपमा पछि गएर अन्तराष्ट्रियस्तरसम्म पुग्ने गरेको उदाहरण दिदै उनले आफुहरुले पनि अब फुटबललाई कल्चरका रुपमा अघि बढाउने योजना सुनाए । हरेक वर्ष पुरस्कार राशी र सहभागी टिम समेत बढाउने लक्ष्यसहित देशकै नमुना प्रतियोगिताका रुपमा अघि बढाउने उनले बताए । हरेक विद्यालय एउटा एउटा खेललाई महत्वका साथ अघि बढाउन सके खेलाडी उत्पादनमा सहयोग हुने उनको दाबी छ ।
कार्यक्रममा खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले फुटबलमा उत्साह थप्ने गरि यो महत्वपूर्ण खेल गतिविधि संचालन भएको बताए । भविष्यमा खेलाडी उत्पादनमा समेत यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, सिद्धार्थ केबलकारका नर बहादुर कार्की, एन्फा टेक्निकल सेन्टर बुटवलमा डाईरेक्टर बुद्धि गुरुङ, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद भट्टराईले सबै सरोकारवालाहरुको सहकार्यबाट नै खेल क्षेत्र विकास हुने बताए ।
भिडियो रिर्पोट



















