बुटवल, १ भदौ ।
बुटवलको दीप बोर्डिङ स्कुलमा लागुऔषध र साईबर अपराधबारेमा सचेतना कार्यक्रम गरिएको छ । लागुऔषधमुक्त समाज निर्माणतर्फको एक पहल नारासहित सोमबार दीप बोर्डिङका कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीहरुलाई समाजमा लागूऔषध दुरुपयोगको अवस्था र साईबर क्राईमबारे एक दिने सचेतना कार्यक्रम गरिएको हो ।
विद्यालयस्तरका बालबालिकाहरु जोखिमलाई मध्येनजर गरि लागूऔषधबारे सचेतना कार्यक्रम गरिएको विद्यालय प्राचार्य टिकाराम न्यौपानेले बताए । लागुऔषध नियन्त्रणका लागि विद्यार्थी, अभिभावक, विद्यालय तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनले बताए । कार्यक्रममा मुख्य बक्ताका रुपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले लागुऔषधको परिचय, यसको दुरुपयोगका कारण स्वास्थ्य तथा सामाजिक जीवनमा पार्ने असर र लागुऔषधको जोखिमबाट बच्ने उपायबारे जानकारी दिए ।
उनले आफनो प्रहरी सेवाको क्रममा घटेका वास्तविक घटनाहरुको उदाहरण पेश गर्दै विद्यार्थीहरूलाई साथीभाइको दबाब, गलत संगत तथा विभिन्न प्रलोभनबाट सचेत रहनसमेत आग्रह गरे । लागूऔषध र साईबर क्राईम पछिल्लोसमय युवाहरुमा जोखिम निम्त्याउने गरि आएको भन्दै यसबाट बच्ने उपायबारे समेत बताए ।
बुटवल क्षेत्रमा पछिल्लोसमय भुप र हुक्काको समस्याबारे गुनासो आएको भन्दै उनले पड्काउने बाईक नियन्त्रण गरे जसरी नै यस विषयमा छिट्टै काम अघि बढाउने प्रतिवद्घता जनाए । नेपाली समाजमा चलचित्रका कारण प्रहरी प्रतिको नकारात्मक चित्रण भएको उनले दाबी गर्दै वास्तविकतामा त्यो सत्य नभएको बताए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले लागूऔषध र साईबर क्राईमको विषयमा आम नागरिकलाई सचेतना दिन धेरै आवश्यक भएको भन्दै विद्यालयमा गरिएको यो कार्यक्रमबाट धेरै फाईदा हुने बताए । ‘कतिपय अवस्थामा यसबारे बुझ्न र बझाउन सके घटनाहरु कम हुन्छन ।’– उनले भने । हाम्रो घरमा समस्या पर्दा गुहार्न जाने पहिलो ठाउ प्रहरी कार्यालय भएको उनले बताए ।
विद्यालयमा गरिएको यो कार्यक्रम एउटा शिक्षण कक्षा र परिक्षाको रुपमा लिन आग्रह गर्दै उनले नैतिक शिक्षा सिकाईको दृष्टिकोणबाट मापन गरिनुपर्ने बताए । विद्यार्थीहरुमा साईबर क्राईम, मानसिक स्वस्थ्य लगायत अहिले जटिल रुपमा देखिएको बताउदै यस विषयमा सबै सरोकारवाला निकायहरु सहकार्य गरि बढ्न जरुरी रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरु प्रिन्स न्यौपाने, मानसी सुनारले विद्यालय नजिकमा नै लागूऔषध र मादक पदार्थ विक्रि वितरणका जानकारी दिदै यसतर्फ प्रहरीबाट आवश्यक रोकथाममा काम गर्न आग्रह गरे । कार्यक्रममा शिक्षक पुरुषोत्तम भण्डारी, विद्यार्थी सम्मर भण्डारीले कार्यक्रम धेरै उपलब्धिमुलक भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।



















