बुटवल, ३१ साउन ।
लुम्बिनी बोर्डिङ स्कुलमा आईतबार सम्पन्न निर्वाचनबाट कक्षा ९ मा अध्ययनरत सन्दीप अर्याल विद्यार्थी क्याप्टेन र कक्षा ८ मा अध्ययनरत सचिन पाण्डे भाइस क्याप्टेनमा निवार्चित भएका छन् । कक्षा ५ देखि १० सम्मका विद्यार्थी मतदाता रहेको निर्वाचन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो । विद्यार्थी क्याप्टेनका लागि दुई जना र भाइस क्याप्टेनका लागि चार जना विद्यार्थीले उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्याल सम्परिवेक्षक तथा सहप्राचार्य कौशलराज बस्याल परिवेक्षकका रूपमा रहेका थिए । शिक्षक दानबहादुर विश्वकर्मा मतदान अधिकृत तथा शिक्षकहरू सुदीप बस्याल, सुरज भुसाल, प्रमेश गैरे र सुवास थापा सदस्यका रूपमा निर्वाचन प्रक्रियामा सहजिकरण गरेका थिए ।
निर्वाचित विद्यार्थीहरूलाई मतदान अधिकृत शिक्षक दानबहादुर विश्वकर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम बस्याल र सहप्राचार्य कौशलराज बस्यालले प्रमाणपत्र, टीका तथा खादा लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।
निर्वाचित क्याप्टेन र भाइस क्याप्टेनले आगामी कार्यकालमा विद्यार्थीको नेतृत्व गर्दै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



















