काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ। यसकै प्रभावका कारण आज देशका अधिकांश क्षेत्रमा बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
यस्तै, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा तराईका भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। रातिको समयमा पनि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी र बागमती प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले महाशाखाबाट जारी हुने पछिल्ला सूचना तथा मौसम पूर्वानुमान नियमित रूपमा अद्यावधिक गर्दै जान आग्रह गरिएको छ ।



















