दाङ, १० साउन ।
एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ । शनिबार दाङको भालुवाङमा सम्पन्न अफिन लुम्बिनी प्रदेशको १२ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट भिमप्रसाद तुलाचनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा रविन श्रेष्ठ, सचिवमा प्रकाश राना र कोषाध्यक्षमा विरु भण्डारी, सदस्यहरूमा सरस्वता पन्थी, डा. दिपेश कुमार गुप्ता, विदुरबहादुर जिसी र माधव भण्डारी निर्वाचित भएको निर्वाचन अधिकृत युवराज घिमिरेले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले व्यवहारमा कार्यान्वयन गर्न नसकिने कानुन र नीतिको कुनै औचित्य नहुने बताएका छन् । उनले कानुन बनाउनेभन्दा पनि त्यसलाई प्रभावकारी रूपमा लागू गर्ने वातावरण निर्माण गर्नु राज्यको पहिलो दायित्व भएको बताए । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र नागरिकमैत्री बनाउन व्यवहारिक कानुन आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री घिमिरेले नेपालमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित धेरै कानुन, नीति र निर्देशिका बने पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको बताए ।
कार्यक्रममा अफिनका केन्द्रीय अध्यक्ष डा. पदम खड्का, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, अफिनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि रिजाल, नेपाल औषधी व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश उपाध्यक्ष जेपी कँडेल लगायतले स्वास्थ्य क्षेत्रको सुधारमा सरोकारवालाहरुको भुमिका बारे प्रकाश पारे ।



















