काठमाडौं, ९ साउन ।
लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार शुक्रबार बिहान ६ बजेसम्मको विवरणअनुसार केही राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खण्डमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भए पनि मुख्य सडकमा सवारी आवागमन ठप्प रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जुरेभिर र भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
यता भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्य पहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–५ माम्खा क्षेत्रमा पहिरो गएपछि सोही राजमार्ग पनि एकतर्फी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
संभावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै बी.पी. राजमार्ग अन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यसैगरी कान्तिलोकपथ अन्तर्गत मकवानपुरको हेटौंडा–भिमफेदी–बागमती–ललितपुर सडक खण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।





















