Spread the love

काठमाडौं, २६ असार ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई आफ्नो स्थापना उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार सिंहदरबारमा सम्पन्न विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न दीर्घकालीन रणनीति अपनाउनुपर्नेमा जोड दिए । बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

बैठकमा उपकुलपति डा. माणिकरत्न शाक्यले विश्वविद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै हाल विश्वविद्यालयमा २ हजार ६२० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए । उनका अनुसार विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् भने ८ सम्बन्धनप्राप्त र ८ सहकार्यमा सञ्चालित कलेज रहेका छन् । विश्वविद्यालयमा हाल २०२ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयले चीन, जापान, भारत, दक्षिण कोरियालगायतका मुलुकका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र (एमओयू) गरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको पनि बैठकमा जानकारी गराइएको थियो । पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गरिएको, कम्प्युटर आधारित परीक्षा (सीबीटी) तथा प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाइएको उल्लेख गरिएको छ ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्ले, विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले आर्थिक तथा प्रशासनिक सुधारका कार्यक्रम अघि बढाउँदै आन्तरिक आय वृद्धि, वित्तीय अनुशासन तथा संस्थागत सुशासनमा उल्लेखनीय प्रगति हासिल गरेको जानकारी गराए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्