Spread the love

बुटवल, २५ असार ।
रुपन्देहीको बुटवलस्थित वेस्टर्न मेगा कलेज प्रालि र काठमाडौंको बालुवाटारस्थित अग्रणी सूचना प्रविधि कम्पनी अल नेपाल टेक सोलुसन्स प्रालि बीच शैक्षिक तथा औद्योगिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विद्यार्थीलाई उद्योगको आवश्यकता अनुरूप दक्ष जनशक्ति बनाउने, व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा सूचना प्रविधि क्षेत्रसँग प्रत्यक्ष जोड्ने उद्देश्यले गरिएको सम्झौताले कलेज र उद्योगबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सम्झौतापत्रमा वेस्टर्न मेगा कलेजका प्राचार्य अधिवक्ता किशु शर्मा र एएनटीएसका प्रमुख प्राविधिक अधिकृत इन्जिनियर सुलभ नेपालले हस्ताक्षर गरे ।

सम्झौतासँगै अब वेस्टर्न मेगा कलेजका विद्यार्थीले एएनटीएसमा इन्टर्नसिप, औद्योगिक प्रशिक्षण तथा रोजगारी सहकार्यका अवसर प्राप्त गर्नेछन् । साथै, रियल–टाइम सफ्टवेयर प्रोजेक्ट, प्रोफेसनल सर्टिफिकेसन, मेन्टरसिप तथा इन्डस्ट्री भिजिट जस्ता कार्यक्रममार्फत विद्यार्थीलाई व्यावहारिक सीप विकास गर्ने अवसर उपलब्ध गराइने कलेजले जनाएको छ ।
प्राचार्य किशु शर्माले शैक्षिक संस्था र उद्योगबीचको दूरी घटाउँदै विद्यार्थीलाई बजारको मागअनुसार दक्ष तथा प्रतिस्पर्धी बनाउने दिशामा यो सहकार्य महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरे। उनले सैद्धान्तिक ज्ञानसँगै वास्तविक सूचना प्रविधि (आईटी) वातावरणमा काम गर्ने अनुभव दिलाई विद्यार्थीको व्यावसायिक भविष्य सुनिश्चित गर्न कलेजले यस्ता साझेदारीलाई विशेष प्राथमिकता दिँदै आएको बताए ।

सम्झौताअन्तर्गत विद्यार्थीको हितसँगै शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम, संयुक्त अनुसन्धान, नवप्रवर्तन (इनोभेसन) तथा पाठ्यक्रम परिमार्जन सम्बन्धी गतिविधिसमेत सञ्चालन गरिनेछ । यी कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा नियमित अनुगमनका लागि दुवै संस्थाका प्रतिनिधि सम्मिलित संयुक्त सञ्चालन समिति समेत गठन गरिने जानकारी दिइएको छ ।

वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्षदेखि चारवर्षे बीआईटी कार्यक्रमसमेत सुरु गरेको कलेजले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्