काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने र केही स्थानमा तातो लहरको प्रभाव कायम रहने अनुमान गरिएको छ ।
विभागका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने भए पनि केही स्थानमा तातो लहरको अवस्था कायम रहने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले वर्षा हुने सम्भावित क्षेत्रमा सावधानी अपनाउन तथा तातो लहर प्रभावित तराई क्षेत्रमा अत्यावश्यक कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन आग्रह गरेको छ ।






















