काठमाडौं ।
लिओनल मेसीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै आफ्नो १८ औं गोल गरेका छन । साबिक विजेता अर्जेन्टिनाले सोमबार अस्ट्रियालाई २–० ले पराजित गर्दा मेसीले नया कीर्तिमान बनाए । योसँगै अर्जेन्टिनाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
खेलको नवौं मिनेटमै मेसीसँग विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने सुनौलो अवसरबाट उनि चुके । अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहार गर्न अघि बढेका उनले बललाई पोस्टको दायाँतर्फ बाहिर प्रहार गरेपछि अवसर खेर गएको थियो । तर मेसीले आफ्नो गल्ती सच्याए । थियागो अल्माडाले फाकुन्डो मेडिनाको पासलाई छोडिदिँदा बल सीधै मेसीको बायाँ खुट्टामा पुगेको थियो । अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर श्लागर गलत दिशातर्फ सरेका बेला मेसीले अवसरको सदुपयोग गर्दै उत्कृष्ट गोल गरे ।
इन्जुरी समयमा उनले अर्को गोल थप्दै विश्वकपमा आफ्नो गोल संख्या १८ पु¥याए । यससँगै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेलाई दुई गोलले पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको स्थान अझ मजबुत बनाए ।





















