Spread the love

काठमाडौं ।

पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो ऐतिहासिक यात्रालाई थप रोमाञ्चक बनाएको छ । गत साता प्रतियोगिताको दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको सानो अफ्रिकी राष्ट्रले आइतबार फेरि अर्को ठूलो टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको छ । दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई केप भर्डेले २–२ को बराबरीमा रोकेको हो ।

खेलको २१ औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत विश्वकपमा केप भर्डेको पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । पछि हेलियो भारेलाले दोस्रो हाफमा बराबरी गोल गर्दै टोलीलाई महत्त्वपूर्ण एक अंक दिलाए । ४८ टोली सहभागी यस विस्तारित विश्वकपमा केप भर्डे अहिले नकआउट चरण पुग्ने सम्भावना बोकेको सबैभन्दा आश्चर्यजनक टोलीमध्ये एक बनेको छ । खेलपछि प्रशिक्षक पेद्रो लेइताओ ब्रिटोले यो उपलब्धि साना राष्ट्रका लागि प्रेरणा भएको बताए । अफ्रिकाको पश्चिमी तटनजिक रहेका टापुहरूको समूह केप भर्डेको जनसंख्या करिब पाँच लाख मात्र छ । मियामी स्टेडियममा उरुग्वेका समर्थकहरूको ठूलो उपस्थिति भए पनि केप भर्डेका खेलाडी दबाबमा देखिएनन् ।

पहिलो हाफको अन्त्यतिर म्याक्सी अराउजो र अगस्टिन कानोब्बियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाएका थिए । तर‚ दोस्रो हाफमा मैदान प्रवेश गरेको केही मिनेटमै हेलियो भारेलाले उरुग्वेका डिफेन्डर माथियास ओलिभेराको गलत पासको फाइदा उठाउँदै खाली पोस्टमा गोल गरे । योसँगै खेल २–२ को बराबरीमा पु¥याए । गोलपछि भारेलाले टोलीका साथीहरूको काँधमा चढेर खुसी साटे भने उरुग्वेका खेलाडीहरू निराश देखिए ।

पहिलो खेलमा उसले साउदी अरेबियासँग १–१ को बराबरी खेलेको थियो । अब समूह चरणको अन्तिम खेलमा स्पेनको सामना गर्नेछ । नकआउट चरणमा पुग्न जित अनिवार्यजस्तै बनेको छ । केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाका लागि पनि यो विशेष खेल रह्यो । स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शनपछि चर्चामा आएका उनले यस पटक आफ्नी आमाको उपस्थितिमा खेले । भिसा नपाएका कारण उनकी आमा पहिलो खेल हेर्न आउन सकेकी थिइनन् ।

यो विश्वकप इतिहासकै पहिलो खेल पनि बन्यो जहाँ दुवै टोलीका सुरुआती गोलरक्षक ४० वर्षभन्दा माथिका थिए । उरुग्वेका फर्नान्डो मुस्लेराले आफ्नो १८औं विश्वकप खेल खेलेका थिए र हालै मात्र ४० वर्ष पुगेका छन् । अन्तिम सिटी बज्नासाथ भोजिन्हाले दर्शकलाई हात हल्लाए भने उनका टोलीका साथीहरू समर्थकहरूसँग उत्सव मनाउन दौडिए । समर्थकहरूले जितेझैं नाचगान गर्दै टोलीको ऐतिहासिक प्रदर्शनको खुसी मनाए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्