काठमाडौँ ।
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सुरक्षा निकायका प्रमुखहरूसँग विशेष बैठक बसेका छन । विपद् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा बैठकमा शून्य मानवीय क्षति अनुसार काम गर्न निर्देशन दिएका छन ।
बैठकमा गृहमन्त्री गुरुङले विगतको परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सधैँ विपद् आइसकेपछि मात्र उद्धार र राहतमा खटिदा अपेक्षाकृत नतिजा आउन नसकेको गुनासो गरे । विपद् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु उनले निर्देशन दिए । देशका उच्च बाढी–पहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देश दिदै एकीकृत टोली बनेर काम गरे विपदमा कसैले पनि ज्यान गुमाउनु नपर्ने उनले बताए ।
यसैगरि अघिल्ला सरकारहरूका पालामा बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको चरम दुरूपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए । गृहमन्त्री गुरुङ आफुनै हेलिकप्टर नचढ्ने घोषणा समेत गरे ।
उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपद्को बहानामा हेलिकप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले बताए । उच्चस्तरीय बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।





















