बुटवल, ३ असार ।
युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि बुटवलमा शुरु भएको सेभेन ए साईड कप नकआउट फुटबल प्रतियोगिता २०८३ मा सृजना युवा क्लब र ईभोलुसन युवा क्लबले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं १५ को संरक्षकत्व तथा सृजना युवा क्लबको आयोजनामा भएको उद्घाटन खेलमा आयोजक सृजना युवा क्लबले उज्जल युवा क्लबमाथि २–० गोल अन्तरले जित निकालेको हो ।
मुक्तिधाम खेलमैदान बुटवल १५ मा भएको खेलमा सृजनाको जितमा भुवन थापा र सन्देश थापाले गोल गरे । खेलमा सन्देश थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि बुधबार नै भएको अर्को खेलमा ईभोलुसनले आर्दश युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा इभोलुसनका अनुज गैरेले २, अभेष शाहीले २ गोल गरे भने एउटा आर्दशबाट आत्मघाती गोल भयो । ईभोलुसनका गोलकिपर समिर दर्लामी खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
विहिबार दोस्रो दिनको खेलमा एड्रिक फुटसल बुटवल र गोरकट्टा ब्वायज तथा कोब्रा ब्वायज र सैनामैना–१ बिचमा खेल हुने संयोजक मनोज थापाले बताए ।
कार्यक्रमको एक समारोहका बिच उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का वडाअध्यक्ष शिव रानाले युवालाई समावेश गरि खेल विकासलाई प्राथमिकताका साथ कार्यक्रम गरिएको बताए । युवाहरुलाई खेलकुदको माध्यमबाट शारिरीक र मानसिक रुपमा स्वास्थ्य राख्न सकिने भएको हुदा पनि यस्ता खेलकुद गतिविधिलाई जोड दिएको उनले दाबी गरे । कार्यक्रममा वडा सदस्य सुर्य प्रसाद काफ्ले, मुक्तिधाम टोल विकास संस्थाका पदाधिकारीसहितको उपस्थिती रहेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष अध्यक्ष सुन्दर पौडेलले बताए । यसैगरि विधागत सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोररलाई समेत पुरस्कृत गरिने उनले बताए । असार ८ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी रहेको छ ।




















